काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा सहमती नभएपछि अनन्त निर्वाचन हुने भएको छ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराएका छन् । नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्रबाट सर्वसम्मत भन्दै नामावली प्रस्ताव गरिएपछि रावलले अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका हुन् ।
रावलको प्रस्तावकमा महादेव बजगाईं र समर्थकमा दूधकला विष्ट रहेका छन् । बजगाईं कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर हुन् भने विष्ट एमाले अछामकी नेता हुन् । ओलीले नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास भन्दै सूची पेस गरे पनि रावल र घनश्याम भूसालले भने आपत्ति जनाएका थिए ।
अध्यक्ष ओलीले आइतबार मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रिया भन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति रहने भन्दै रावलले विधि र प्रक्रियाको कुरा उठाएपछि ओलीको सर्वसम्मत बन्ने प्रयासमा धक्का लागेको हो । सोमबार बिहान मनोनयन दर्ताको कार्यक्रम चलिरहेको छ ।
त्यस्तै नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसालले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । केपी ओलीले सर्वसम्मत नेतृत्वको घोषणा गर्न खोजिरहँदा भूसाल, रावल र आचार्यसहित अरु नेताहरूले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।