बन्दसत्रबाटै ध्वनी मतका आधारमा नेतृत्व टुंग्याउने तयारीमा ओली !

मुख्य खबर आइतवार मंसिर १२, २०७८

काठमाडौं । नेकपा एमाले महाधिवेशनको तेस्रो दिन आज केपी शर्मा ओलीले नेतृत्वको सूची बाचन गर्दै हलबाट ध्वनी मतका आधारमा नेतृत्व टुंग्याउने तयारी गरेका छन् । हिजो शनिबारको बन्द सत्रले अध्यक्ष ओलीलाई केन्द्रीय समिति र पदाधिकारीका लागि नाम प्रस्ताव गर्ने जिम्मेवारी सुम्पिएको थियो । त्यसअनुसार ओलीले आफू निकटस्थहरुसँग परामर्शमा सूची बनाउने र बन्दसत्रमा पढेर सुनाउने तयारी गरिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रको हलमा नाम घोषणा गरेपछि प्रतिनिधीले ध्वनी मतबाट त्यसलाई सदर गर्ने संस्थापन पक्षका नेताहरु बताउँछन् ।

 

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले संसदमाजस्तै ‘हुन्छ’ र ‘हुन्न’ भनेर प्रस्ताव लैजाने र हलले ताली पिटेर अनुमोदन गर्ने बताए । महाधिवेशन प्रतिनिधिहरुमा अधिकांस ओलीकै प्राधिकारको पक्षमा छन् । त्यसैले उनले नाम घोषणा गर्दा बदर हुने सम्भावना नगण्य देखिएको छ ।

भीम रावलले अध्यक्षमा दावेदारी प्रस्तुत गरिरहेका छन् । कसैले उम्मेदवारी दिन चाहेमा निर्वाचन प्रक्रियामा जाने पार्टीको निर्वाचन आयोगले बताइरहेको छ । तर, पार्टी संस्थापनले भने कसैले उम्मेदावरी दिएमा त्यसलाई पनि ध्वनीमतबाटै टुंग्याउने रणनीति बनाएको बुझिएको छ । यस्तोमा रावलका पक्षमा बहुमत प्रतिनिधि नपुगेको भन्दै ओलीलाई सर्वसम्मत अध्यक्ष घोषणा गर्ने सम्भावना रहेको छ । तर रावलले कुनै पनि हालतमा निर्वाचनमा जाने अडान दोहोर्याएका छन् ।

Leave a Comment