काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघ र प्रदेशहरुमा सरकारबाट एमाले बाहिरिनु आफूहरूको लागि खुसीको कुरा भएको बताएका छन् ।
देशभरका पालिकास्त रीय सम्मेलनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रचण्डले भने, ‘ओली प्रवृति र विघटनकारी प्रवृत्तिका रूपमा केपी ओली जनताकाबीचमा नांगिए र सबै सरकारबाट अलग हुनुपर्ने अवस्था आयो । यो कम्युनिष्ट पार्टीका लागि खुसी र गर्वको कुरा हो ।’
प्रचण्डले मओवादी नेतृत्व र माओवादीका एजेण्डाहरूलाई उल्ट्याउन दुई पटक संसद विघटन गरेर ओलीले प्रतिगमनको प्रयास भएको दाबी गरे ।
हिजो हामीले कुम्भमेलाजस्तो मेला देख्यौं । जहाँ विचार र बहसलाई कुनै ठाउँ छैन । त्यहाँ जनतालाई भ्रम दिने ध्यान मात्रै छ, दाहालले भने । उनले एमालेको महाधिवशेनलाई तथाकथित भएको बताए ।
राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले विचारको बहसलाई प्राथमिकता दिने दाहालको भनाइ थियो । ुतथाकथित महाधिवेशन भइरहेका छन् । ती सबैभन्दा भिन्न हामी विचार, राजनीतिक लाइन, संगठनात्मक कार्यदिशाका साथै हाम्रो कार्यशैली र आचार व्यवहारलाई प्राथमकिता दिने सम्मेलन गर्दैछौं, उनले भने ।
एमालेको महाधिवेशन र माओवादीले आयोजना गर्न लागेको राष्ट्रिय सम्मेलनमा कुनै तुलना हुन नसक्ने दाहालको भनाइ थियो । उनले भने, अरुका तथाकथित अधिवशेन र हाम्रो विचार निर्माण, विचार विकास र विचार संश्लेषणको, सम्मेलनको कुनै तुलना हुन सक्दैन ।