काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र सक्षम नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । कांग्रेस काठमाडौँका सभापति पदका उम्मेदवार कृष्ण (सबुझ )बानियाँ समूहको उम्मेदवारी घोषणासभामा उहाँले पार्टीमा सक्षम नेतृत्व आवश्यक रहेको बताउनुभएको हो ।
“पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढङ्गले सञ्चालन गर्नका लागि १४औँ महाधिवेशनबाट यस्तो नेतृत्व आवश्यक छ”, उहाँले भन्नुभयो । नेता सिंहले १४औँ महाधिवेशनपछि पार्टी जनताको चाहनाअनुसार अगाडि बढ्ने उल्लेख गर्नुभयो ।
वि.स.२०७२ मा निर्माण भएको संविधानको नेतृत्व गरेको कांग्रेसले तीन तहको निर्वाचनमा किन हायो यसबारे गम्भीर समीक्षा हुनुपर्ने नेता सिंहको भनाइ थियो ।
कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीलाई विधिसम्मत ढङ्गले अगाडि बढाउनका लागि शीर्ष नेता अभिभावक बनेर बस्नुपर्ने उल्लेख गर्दै जनतालाई आश र भरोसा दिने नेतृत्व १४औँ महाधिवेशनले दिनुपर्ने बताउनुभयो । उहाँले मत हुने पार्टीमा मतभेद हुनु सामान्य भएको भन्दै विवेकपूर्ण ढङ्गले आफ्नो मतको प्रयोग गर्न सबैलाई आग्रहसमेत गर्नुभयो ।
कांग्रेस काठमाडौँका सभापतिका उम्मेदवार कृष्ण सबुझ बानियाँले कांग्रेस सङ्गठनलाई थप सशक्त बनाउनका लागि आफूले दोस्रो कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिन लागेको बताउनुभयो ।
बानियाँ समूहबाट उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा गोविन्द पुडासैनी र इन्द्रबहादुर थापा र सहसचिवमा रोमेल श्रेष्ठ र प्रा डा अमिता प्रधानले उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो ।