जनयुद्ध कुनै लहडमा भएकाे हाेइनः अध्यक्ष प्रचण्ड

NFM TV शुक्रबार कार्तिक २६, २०७८

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध कुनै लहडमा नभएको बताएका  छन् । शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा नेकपा विप्लव समूहका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा प्रवेश गराउँदै उनले भने, ‘कसैले चाहँदैमा, लहड चल्दैमा क्रान्ति हुने पनि होइन ।’ उनले एक्लैएक्लै अगाडि जाँदा क्षतविक्षत हुने खतरा रहेकाे बताए ।

अध्यक्षले पार्टी एकताका लागि पूर्वमाओवादी नेताहरुसँग छलफल भइरहेको पनि जानकारी दिए । उनले भने,‘किरणको अर्को पार्टी बन्यो, चल्ने कुरो भएन । विप्लवको बन्यो, तपाईंहरु नै भुक्तभोगी बनेर आउनुभएको छ । हुने कुरा थिएन । त्यो त्यति सजिलो कुरा थिएन ।’

ढिलोछिटो विप्लव पनि माओवादी केन्द्रमा आउने विश्वास अध्यक्ष प्रचण्डको थियो । उनले अगाडि थपे, ‘छुट्टै बसेर भन्दा सँगै बसेर क्रान्ति सम्पन्न हुन्छ । अहिले कुरा पनि चलिरहेको पनि छ । एक्लै प्रयास गर्दा नियत जे भए पनि नियतिले क्षतविक्षत हुने बाहेक अरु विकल्प छैन ।’

अध्यक्षले एउटै समयमा थुप्रै प्रचण्ड जन्मन नसक्ने बताउनुहुँदै माओवादी आन्दोलन र प्रचण्डलाई प्रतिक्रान्तिकारीहरुले सिध्याउन खोजेको बताए । ‘प्रतिक्रान्तिकारीहरुले अहिले पनि हाम्रा आन्दोलनका उपलब्धिहरु उल्ट्याउने अभियानमा तारो माओवादी आन्दोलन र त्यसको नेताको हैसियतले प्रचण्डलाई नसिध्याएसम्म हुँदोरहेनछ भनिरहेका छन्,’ उनले भने ।

‘प्रचण्ड भन्ने कुरा प्रचण्डले जन्माको त होइन, नेपाली जनताले जन्माएको । तपाईं हामी सबै लडेर निर्माण गरेको हो नि प्रचण्ड भन्ने व्यक्ति होइन । फेरि एउटै युगमा एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैनन्,’ उनले अगाडि भने, ‘थुप्रै माक्र्स, लेनिन र माओ हुँदैनन् एउटा समय र एउटा कालमा । जनता, आन्दोलन, संघर्ष, बलिदानले पैदा गर्ने हो, सही विचारले पैदा गर्ने हो । सही निर्णयहरुले पैदा गर्ने हो । यसलाई वर्ग संघर्षको रुपमा प्रतिक्रियावादीहरुले सिध्याउन खोज्छन् । जनताले त्यसलाई बचाउन खोज्छन् ।’

Leave a Comment