काठमाडौं । आगामीो शैक्षिक सत्र २०७९ बाट कक्षा ४, ५ र ९ को नयाँ पाठ्यक्रम कार्यान्वयन हुने निर्णय भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले हाल परीक्षण भइरहेका पाठ्यक्रमहरु कार्यान्वयन गर्ने निर्णय गरेको हो । कक्षा ४, ५ र ९ का पाठ्यक्रम देशका २८ वटा विद्यालयमा परीक्षण भइरहेको छ ।
शिक्षामन्त्रीको अध्यक्षतामा बसेको परिषद् बैठकले मदरसामा अनिवार्य विज्ञान तथा प्रविधि विषयको सट्टामा दिनियात विषय अध्ययन गर्न पाउने निर्णय गरेको छ । बैठकले नेपालको संविधानमा मातृभाषाको व्यवस्था गरेअनुरुप थप अन्य मातृभाषाको पाठ्यक्रम पनि बन्न सक्ने र ऐच्छिक विषयको रुपमा पठनपाठन हुनसक्ने गरी व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ ।