काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादी पार्टी प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्र्दै पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।
नेकपा एमालेबाट मुख्यमन्त्री बन्नु भएकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि उहाँले हिजो पदबाट राजीनामा गर्नु भएको थियो । शाक्यले राजीनामा दिएसँगै गठबन्धनका तर्फबाट ५९ जना सांसदको हस्ताक्षरसहित पाण्डेले मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्नु भएकोे थियो । प्रदेशसभामा १ सय ९ जना सांसद रहेकोमा पाण्डे मुख्यमन्त्री बनेको दल एकीकृत समाजवादीको १३ जना मात्रै सांसद छन ।
पाण्डेलाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी (जसपा)को एक जना सदस्यले हस्ताक्षर गर्नु भएको थियो । गठबन्धनबाट पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित चार जना मन्त्रीहरुले सपथ ग्रहण गर्नु भएको हो । माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान सामाजिक विकास मन्त्री, कांग्रेस उपनेता कृष्णलाल भडेल भौतिक पूर्वाधार र नेकपा (एस)का उपनेता कृष्ण खनालले आन्तरिक मामिला तथा कानुन मन्त्री बन्न भएको छ ।